
भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी)को मूल्य घटाएको छ । यसअघि घरेलु प्रयोगमा आउने खाना पकाउने ग्यासको मूल्य घटाएको सरकारले कमर्सियल प्रयोगमा आउने ग्यासको मूल्य पनि घटाएको हो । यसअघि घरायसी प्रयोग हुने ग्यासको मूल्य भारत सरकारले २०० भारु घटाएको थियो ।
घटेको मूल्य आजैदेखि लागू हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कमर्सियल ग्यासमा १५८ भारु घटाइएको छ ।
अब १९ किलोवाला कमर्सियल ग्यास सिलिण्डरको मूल्य दिल्लीमा १५२२ भारु पर्ने छ । कोलकत्तामा १६३६ भारु पर्ने छ । मुम्बईमा यही ग्यास सिलिण्डर १४८२ भारु पर्ने छ ।
यस्तै घरायसी प्रयोगको १४.२ किलो ग्यास सिलिण्डरको भने दिल्लीमा ९०३ भारु, कलकत्तामा ९२९ र मुम्बईमा ९०२ भारु पर्ने छ ।
भारतमा एलपीजी ग्यासको मूल्य घटिरहँदा नेपालमा भने बढेको छ । नेपाल आयल निगमले बिहीबार मात्रै ग्यासको मूल्य बढाएको थियो । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।
नेपालमा एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।