
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि चीनसँग प्रस्ताव राख्ने बताएका छन् ।
चीनबाट नियमित उडान भएमा गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई सहयोग पुग्ने उनले बताए ।
शुक्रवार पोखरामा समाजवादी मोर्चा गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै प्रचण्डले चीन भ्रमणमा उठाउने एजेन्डाबारे आजैमात्र लामो छलफल गरेको जानकारी गराएका हुन् । भदौ ३१ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जान लागेका प्रचण्ड त्यतैबाट चीन जाने कार्यक्रम छ ।
‘चीन भ्रमणमा कुन–कुन एजेन्डा फाइनल गर्नको लागि आज चार घण्टा समय गयो । एजेन्डा करिब करिब फाइनल भएको छ । भौतिक पूर्वाधारसम्बन्धी आयोजनालाई महत्व दिएका छौं । हिल्सा–सुर्खेत सडकदेखि मुस्ताङको कोरला नाका खोल्ने समझदारी बन्दैछ’ प्रचण्डले भने, ‘रसुवा र किमाथांका नाकाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन बनाएर चीनलाई विद्युत बेच्ने प्रस्तावमा छलफल गर्दैछौं ।’
चीनसँग विद्युत व्यापार सम्झौता भएमा नेपालको आर्थिक विकासका लागि ठूलो फड्को हुने उनले बताए । ‘पोखरा र लुम्बिनीमा सिधा नियमित उडानको बारेमा छलफल गर्नेछौं । यो प्रदेशको आर्थिक गतिविधिलाई ठूलो मद्दत गर्ने छ’ प्रचण्डले भने ।
यस्तै कृषि क्षेत्रमा पनि विभिन्न साझेदारीबारे छलफल हुने उनले जानकारी दिए । ‘नेपालबाट सुकेको घाँस लैजाने काम शुरू भएको छ, उनीहरू ठूलो मात्रामा लैजान सक्छन् । यस्तै चीनमा राँगाको मासुको माग अत्यधिक रहेछ । नेपालमा खोरेँत नियन्त्रण गर्न सकियो भने राँगाको मासु निर्यातबाट पनि धेरै लाभ लिन सकिन्छ ।’