
नेपाल एयरलाइन्सले करीब तीन महिनापछि काठमाडौं-सुकेटार उडान शुरू गरेको छ ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं-सुकेटार उडान हुन सकेको थिएन ।
मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान शुरू भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।
लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।
करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ ।
काठमाडौं ताप्लेजुङको भाडा यसअघि ९ हजार ६ सय ५३ थियो भने हाल घटाएर ८ हजार ६ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि रु ४ हजार ४ सय ५३ भएकोमा यसलाई घटाएर ८ हजार ४ सयमा झारिएको छ ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरूपमा उडान हुने विमानस्थलको विश्वास छ ।
यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।