
तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन ।
कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने रेग्मीले स्मरण गरे ।
‘कानूनी र न्याय क्षेत्रमा सुवासजीको राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो’ पूर्वअध्यक्ष रेग्मीले भने ।
नजिकबाट चिनेको व्यक्ति भएकाले नेम्वाङको निधनको खबरले दुःख लागेको बताउँदै रेग्मीले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलिका साथै परिवारजनप्रति समवेदना प्रकट गरे । पूर्वसभामुख नेम्वाङको हृदयघातबाट सोमवार राति साढे २ बजे निधन भएको थियो ।
रेग्मी नेतृत्वको सरकारले २०७० सालमा चुनाव गराएपछि संविधानसभा गठन भएको थियो ।