२७ जेठ २०८३, बुधबार

अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

असोज १, २०८०
काठमाडौं
अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको छ । 

समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो । 

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले  सहभागिताका लागि आवेदन दिएका थिए । 

समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई सदस्य रहेका छन् । 

‘हल्कारा’मा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । 

salt training

कमेन्ट गर्नुहोस्