
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् । गिरिबन्धुको फाइल खोल्दा गठबन्धनका नेताहरू नै जेल जाने उनले दाबी गरे ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गिरिबन्धुको फाइलसँग कुनै त्रास नरहेको बताएका हुन् ।
‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । (हामीलाई) फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर,’ ओलीले भने ।
ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो । तर, ओलीले गिरिबन्धुको फाइलसँग एमालेको त्रास नभएको बताए ।
ओलीले सुन तस्करीको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको आरोप पनि लगाए ।
‘एक महिनासम्म १ सय किलो सुन भनियो, ६१ किलोमा झर्यो । ३९ किलो सुन कहाँ गयो ? विद्युतीय सिगरेटमा आएको साढे ९ किलोको सुन कहाँ गयो ? २९४ पटक भएको टेलिफोनको साँठगाठ कहाँ गए ?’ ओलीले प्रश्न गरे, ‘७ वर्षअघि नै नागरिकता दिएर तस्कर तयार गरिएको रहेछ, ती मान्छे को हुन् ? भरिया समातेर हुँदैन, यसमा अर्बौं लगानी गर्ने व्यापारी को हो ?’
ओलीले सुन तस्करीको छानबिन जति ढिलो गर्यो त्यति नै महंगो पर्ने टिप्पणी गरे ।