
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।
नक्कली बिल भरपाई बनाएर ४ लाख ६४ हजार १६१ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले जिल्ला विकास समिति सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
तर विशेष अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै प्रतिवादीलाई सफाइ दिएको थियो । विशेषको सोही फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार आयोगले पोखरेलसँगै रामकुमार पौडयाल, फलेन्द्र दोर्णप्रसाद डीसी (रजौरे), टेकबहादुर डाँगी (क्षेत्री), कृष्णबहादुर घर्ती, खलबहादुर चलाउने, कर्णबहादुर रावत, डम्बरबहादुर पुन, निमाकुमारी विक र गजुबाबु श्रेष्ठ (निधन भइसकेको) विरुद्ध पनि विशेषमा मुद्दा दायर गरेको थियो ।
तर विशेषले केही व्यक्तिलाई मात्रै आंशिक जरिवानाको फैसला गरेको थियो । सोही फैसलाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको हो ।