
एसियाली खेलकुदको क्रिकेटअन्तर्गत बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनायो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।
मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो ।
नेपालको उच्च प्रदर्शनलाई लिएर चर्चा भइरहेको छ । यसैबीच, भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपालले भारतकै द्विग्गज खेलाडीहरूको कीर्तिमान भंग गरेको चर्चा ती सञ्चारमाध्यमहरूले गरेका छन् । हुन पनि नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए ।
यसबारे बीबीसी हिन्दीले कुशल मल्लले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान जोडेको समाचार बनाएको छ ।
‘नेपाली ब्याटर कुशल मल्लले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेभिड मिल्नले यसअघि बनाएको ३५–३५ बलमा शतक बनाएको कीर्तिमान ३४ बलमै बनाएर ध्वस्त बनाएका छन्,’ बीबीसी हिन्दीले लेखेको छ ।
यस्तै, जी न्युजले दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेको समाचारलाई शीर्षक बनाएको छ । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो ।
‘नेपालका दीपेन्द्रसिंह ऐरीले युवराज सिंहले बनाएको ‘फास्टेस्ट फिफ्टिज’को कीर्तिमान तोडेका छन्,’ जी न्युजले लेखेको छ ।
यसैगरी आज तकले पनि नेपाली खेलाडीको प्रशंसा गर्दै ‘४ कीर्तिमान ध्वस्त’ शीर्षकमा भिडियो समाचार बनाएको छ । यसका साथै, भारतका प्रायः सबै मिडियाले नेपाली टोली र खेलाडीहरूले टी–२० मा बनाएको तोड्न गाह्रो रहेको विश्लेषणसहित समाचार बनाएका छन् ।
चीनको झेजियाङमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो ।
नेपालका लागि कुशलले सर्वाधिक अविजित १३७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ६१ र दीपेन्द्रले अविजित ५२ रन बनाए ।
३१५ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मंगोलिया १३.१ ओभरमा मात्र ४१ रन बनाएर अलआउट भयो । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।