
नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै मन्त्रीले नघुमेका ठाउँ हाम्रा प्रधानमन्त्रीले घुम्नुपर्ने भन्दै उनले मंगलवार संसद्मा प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्री जाँदा संसद् निदाउनुपर्ने । देशको अवस्था, महंगी, गरिबी, किसानले नपाउने, वस्तुको समर्थन मूल्य, बिउ नपाउनेजस्ता थुप्रै समस्या छन् । यस्तो बेला प्रधानमन्त्रीलाई १६ दिने विदेश भ्रमणमा जानुपर्ने ?’ ओलीले प्रश्न गर्दै भने, ‘यी सबै कुराप्रति प्रधानमन्त्रीको ध्यान छैन । किन जानुभएको हो ? त्यत्रो चीनको सबै ठाउँ हेरिसकिएला, त्यहीँका मन्त्रीले चीनका सबै ठाउँ हेरिसकेका छैनन् । हाम्रा प्रधानम्न्त्री सबै ठाउँ घुमेर आउँछु भनेर जानुभयो ।’
प्रधानमन्त्री प्रचण्डले तिब्बतमा रहेको कैलाश मानसरोबरको भ्रमण गरेका थिए । ओलीको टिप्पणी यसैप्रति लक्षित थियो ।