२६ जेठ २०८३, मंगलबार

श्रीलंकालाई हराएसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

कात्तिक २३, २०८०
काठमाडौं
श्रीलंकालाई हराएसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बैंगलोरमा बिहीवार भएको खेलमा न्युजिल्यान्डले विश्वकपबाट बाहिरिइसकेको श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १७२ रनको झिनो लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । 

न्युजिल्यान्डको जीतमा डेभोन कोनवेले सर्वाधिक ४५, ड्रायल मिचेलले ४३ तथा रचिन रवीन्द्रले ४२ रन बनाए ।

यस्तै ग्लेन फिलिप्स र टोम लाथमले अविजित क्रमशः १७ र २ रन जोडेपछि न्युजिल्यान्डले लक्ष्य भेट्टायो ।

श्रीलंकाका एन्जेलो म्याथ्युजले सर्वाधिक २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो । 

श्रीलंकाका लागि कुशल परेराले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाएका थिए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए ।

यस जीतले न्युजिल्यान्डले ९ खेलबाट १० अंक जोडेको छ । अब १० अंकमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् । तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने उच्च सम्भावना छ । अफगानिस्तान ८ खेलमा ४ मा जीत र ४ मा हारसहित छैटौं स्थानमा छ ।

अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल शनिवार इंग्ल्यान्डसँग खेल्नेछ ।

पाकिस्तानको नेटरनरेट प्लस ०.०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.७४३ छ । नेटरनरेटकै कारण न्युजिल्यान्डले सेमिफाइनल खेल्ने लगभग निश्चितजस्तै देखिन्छ ।

आयोजक भारत ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाले खेल्ने भएको निश्चित भएको छ ।

भारतले चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ । न्युजिल्यान्ड र भारतले सेमिफाइनल खेल्ने सम्भावना प्रबल छ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो सेमिफाइनल १६ नोभेम्बरमा हुनेछ । फाइनल भने १९ नोभेम्बरमा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्