
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले राजनीतिक दल र तिनका नेता–कार्यकर्ता तथा देशका समसामयिक विषयप्रति घुमाउरो पारामा व्यंग्य गरेका छन् ।
उनले शुक्रवार साँझ सामाजिक सञ्जालमार्फत यस्तो व्यंग्य गरेका हुन् ।
मेयर बालेनले आफ्ना निर्णयहरूप्रति अरुले अड्को थापेको संकेत गरेका छन् ।
‘रबरको जुत्ता बनाउछु म, त्यसमा पनि शुरूको अधिकार मेरो हो भनेर आउँछन् । र, नतन्किने प्लास्टिकको बनाएर जान्छन्,’ र्यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।
मेयर बालेनले हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ भनेका छन् । उनले यो के भन्न खोजेका हुन् प्रष्ट्याएका भने छैनन् ।
मेयर बालेनले बुधवार साँझ पनि राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत नै कटाक्ष गरेका हुन् ।
पछिल्लो समय केही शीर्ष दलका नेताहरूले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका छन् । मेयर बालेनले यसप्रति व्यंग्य गरेका थिए ।
मेयर बालेन सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा आउने गर्छन् । केही महिनाअघि मात्र ‘सिंहदरबारमा लागो लगाइदिन्छु’ भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए ।