
वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताएका छन् ।
भारतीय संस्था ‘सिएमएस वातावरण’ले आज आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उनले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपालको हिमालय क्षेत्रले जलवायु परिवर्तनका कारण धेरै क्षति बेहोरिरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री महतोले बदलिएको मौसमी ढाँचाले हिमनदी पग्लने, ताल सुक्ने, बाढी, खडेरीलगायत चरम मौसमी प्रतिकूलता झेल्नुपरेको वास्तविकता सुनाए। वातावरणीय शिक्षा, नागरिकमा जिम्मेवारी र चेतनाको भावना विकास गर्न, उनीहरूलाई जलवायु परिवर्तनका दुष्प्रभावबारे जानकारी दिन महोत्सवमा प्रस्तुत हुने चलचित्र प्रभावकारी हुने बताए ।
महोत्सव अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ, वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल वातावरण पत्रकार समूहलगायत संस्थाको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।