
धनुषा । विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ ।
परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।
सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गरिएको पनि परिषद्का केन्द्रीय सदस्य साहले बताए ।
विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनौट गरिएको केन्द्रीय सदस्य साहले बताए ।
विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको छ । विगत पाँच वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ ।