२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

संस्कृति मन्त्रीको ‘विवादास्पद’ अभिव्यक्तिको दुई प्रतिपक्षी दलद्वारा विरोध, हिन्दुवादी आक्रोशित

पुस ६, २०८०
काठमाडौं
संस्कृति मन्त्रीको ‘विवादास्पद’ अभिव्यक्तिको दुई प्रतिपक्षी दलद्वारा विरोध, हिन्दुवादी आक्रोशित

'लोकान्तर राउण्ड अप'मा स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख खबरहरुसहित उपस्थित भएका छौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको विवादास्पद बनेको धार्मिक अभिव्यक्तिको प्रतिनिधिसभाका दुई प्रतिपक्षी दलहरु राप्रपा र रास्वपाले विरोध गरेका छन् । 

रास्वपाका सभापति रवि लामिछानेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री किराँतीले साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएकाले पदमा बस्न नमिल्ने लामिछानेको भनाइ छ । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै लामिछानेले सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने बताएका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विवादस्पद अभिव्यक्ति दिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग राखेको छ ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ बिहीवार एक विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।
यसैबीच  राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरुले काठमाडौँमा किरातीको पुत्ला दहन गरेका छन् । 

ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको दाबी गर्दै उनीहरूले पुत्ला दहन गरेका हुन् ।
००००
उता किरातीलाई कारबाही गर्न माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ ।
संगठनले बिहीवार दिउँसो पाशुपत क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए ।
००००
तर, मन्त्री सुदन किराँतीले भने  क्रिश्चियन धर्मबारे आफूले असहिष्णु बयान नदिएको बताएका छन् ।
एक कार्यक्रममा मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्नु संविधान नमान्नु हो । संविधान नमान्ने देशद्रोही हुन् ।

उनीहरूलाई हतकडी लगाएर जेल हाल्नुपर्छ’ भनेर दिएको अभिव्यक्ति विवादित बनेको थियो । उनको अभिव्यक्तिलाई लिएर हिन्दुवादी संघसंस्थाहरुले आक्रोश पोखिरहेका छन् । 
००००
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ ।
सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि सङ्घीय संसद्मा विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो ।
००००
सरकारले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जातजातिलाई अल्पसख्यकको रुपमा तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।
००००
हत्या आरोपमा फरार रहेका अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अंकित भन्ने जगत विक रहेका छन् । 
भारतबाट पक्राउ परेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास परिवर्तन गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् ।  
रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि नगर्ने र आफ्ना पार्टीका नेतालाई पनि गर्न नदिने बताए ।
००००
नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले फराकिलो जीत निकालेको छ ।  बिहीवार काठमाडौंको दशरथ रंगशालामा वीरगञ्जले शीर्ष चारको दौडमा काठमाडौं रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।
००००
सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
००००
नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्