
राष्ट्रपति रामचन्द्र पौडेलले गाँउगाँउमा विकास पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नभएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
तनहुँको भानु नगरपालिकामा रहेको पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रवार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको उनले गुनासो गरे ।
‘अबका दुई/चार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ?', उनले भने, 'विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो रु यो प्रश्न म आफैंसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानी को अवस्था बनेन ।’

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको बताए ।
‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ’, उनले भने ।