
नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक आज बस्दैछ । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न आज बैठक बस्न लागेको हो । यसअघि शुक्रबार बस्ने तय भएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।
विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनोट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनोट गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमवार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।