
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ आज काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले यस्तो बताएका हुन् ।
‘यस अभियानले स्वाभाविकरुपमा समाजमा चेतना फैलाउने छ, समाज रुपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ’, उनले भने ।
अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।
त्यस अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै शुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो ।
दौडमा प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रू २५ हजार, तृतीय हुनेलाई रू १५ हजार तथा चौथो हुनेलाई रू पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो ।
दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।