
काठमाडौं, १८ असोज — अमेरिकाले मंगलवार क्युबाका १५ कूटनीतिज्ञहरूलाई देशनिकाला गरेको छ । हवानास्थित अमेरिकी कूटनीतिज्ञहरूमाथि रहस्यमय आक्रमण भएपछि अमेरिकाले अत्यावश्यकबाहेक अन्य कूटनीतिज्ञलाई देश फर्किन लगाएको थियो र त्यसैसँग बराबर हुने गरी अहिले उसले क्युबाली कूटनीतिज्ञहरूको संख्या कटौती गरेको हो ।

देशनिकाला गरिएका १५ कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न लगाइएको अमेरिकी गृह मन्त्रालयका एक अधिकारीले बताए ।
यो कदमको क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेज परिल्ला निन्दा गरेका छन् ।
‘क्युबाले कहिले पनि कुनै कूटनीतिक अधिकारी तथा तिनको परिवारमाथि आक्रमण गरेको छैन र गर्ने पनि छैन,’ हवानामा आयोजित एक पत्रकार सम्मेलनमा उनले बताए ।
सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अमेरिका र क्युबाबीचको सम्बन्ध सुधार गराएपनि अहिले दुई देशबीचको सम्बन्ध बिग्रँदै गएको छ ।
क्युबामा रहेका २२ अमेरिकी कूटनीतिज्ञ र तिनका परिवारका सदस्यहरू बिरामी परेका घटनामा आफ्नो कुनै भूमिका नरहेको क्युबाली सरकारले बताउँदै आएको छ ।
सीएनएनबाट