
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो ।
हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।
समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा गर्ने खर्चको शैली पनि फेरिएको पाइएको छ । पछिल्लो समय नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ । उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ । त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ । नेपालीले मासुमा गर्ने खर्च पनि बढेको छ । खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो । गोरखापत्रमा खबर छ ।