
कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । ज्यान गुमाउनेमध्ये सात जना कञ्चनपुरका छन् ।
मृत्यु हुनेमा रौतहटको औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल-३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत नेपाल आर्मीका ४१ वर्षका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, महेन्द्रनगर-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी र भिमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, दुर्घटनामा भिमदत्त नगरपालिका–१६ कन्चनपुर सन्जु थापा, कञ्चनपुरको भिमदत्त नगरपालिकाका २७ वर्षीया खगेश्वरी खाती, भिमदत्त नगरपालिका–२ का २२ वर्षीय सुदीप भट्ट, पुर्नवास–९ बिसफाटाका अन्दाजी ७० वर्षकी विमलादेवी भट्ट, पुर्नवास–९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० वर्षका विशनदत्त भट्टको ज्यान गएको कपिलवस्तु प्रहरी प्रमुख नवरत्न पौडेलले जानकारी दिए ।
जिल्लाको शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेमध्ये ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोकबहादुर कार्की, गाडी चालक भिमदत्त–४ का पूर्णबहादुर चन्द, कैलालीको बेलडाडी नपा–१ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ति सुनारी गापा–२ बस्ने वर्ष २३ को सुशील कुँवरको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, गुल्मी मालिका गापा–७ बस्ने वर्ष २९ का अर्जुन कार्की, कन्चनपुर भिमदत्त न.पा.–१८ बस्ने बर्ष २८ का सन्तोष चौधरी, कन्चनपुर महेन्द्रनगर न.पा.–१८ बस्ने वर्ष ३५ का केशव हमाल, बैतडी मेनौली न.पा. –१ बस्ने वर्ष २२ का राजेश दयाल, कन्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष १८ को नितेश सुनारको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेको चन्द्रौटास्थित कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए । तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।