२६ जेठ २०८३, मंगलबार

म्याग्दीको मङ्गलामा ‘ट्रयाक’ खुलेको १३ वर्षपछि थालियो सडक स्तरोन्नति

फागुन ६, २०८०
काठमाडौं
म्याग्दीको मङ्गलामा ‘ट्रयाक’ खुलेको १३ वर्षपछि थालियो सडक स्तरोन्नति

म्याग्दी–म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए ।

‘चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो,’ उनले भने, ‘सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।’

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८–८१ मा गण्डकी प्रदेश सरकारले रु ६० लाख र मङ्गला गाउँपालिकाले रु ४० लाख विनियोजन गरेका छन् । गत पुस ५ गते रु ७१ लाख ४० हजार पाँच सय ७६ मा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताए । 

‘काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘६ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।’ ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवतजावत बन्द गरिएको छ ।

आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताए । यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु ५० लाख बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । 

सडकको भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । गाउँपालिकाले ठेक्का लगाउँदा बचेको रु नौ लाख बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्