२६ जेठ २०८३, मंगलबार

अशोक स्तम्भ जोगाउन नयाँ ठाउँमा सारियो ‘दियो स्थल’, बढ्यो तीर्थालुको आकर्षण

फागुन ७, २०८०
बुटवल
अशोक स्तम्भ जोगाउन नयाँ ठाउँमा सारियो ‘दियो स्थल’, बढ्यो तीर्थालुको आकर्षण

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई असर पुगेपछि नजिकै बालिने बत्तीलाई सारिएको छ ।

लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको हो ।

युनेस्को, पुरातत्वविद्हरूले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।

‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिँदै आएको दीयोलाई अलि टाढा लैजाने विज्ञहरूको सुझाव थियो, त्यहीअनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ’, उपाध्यक्ष लामाले भने । लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।​​​

ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो ।​

युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरूको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुवाँले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो ।

बत्ती बाल्दा त्यसबाट निस्कने कार्बनले अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफूहरूले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एवं वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए ।

उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूधलगायत फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।

सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा युनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजना अन्तर्गत अशोक स्तम्भको पुरातात्विक संरचना संरक्षणका लागि वाटरप्रुफ र संरक्षणको काम गरिएको थियो ।

अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरूलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ । अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ ।

कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालिन योजना बनाएको छ । नवनिर्मित दियो स्थलमा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहितका विभिन्न धार्मिक गुरु एवं तीर्थालुहरूले बत्ती बालेका छन् ।

गत माघ १२ गते उपाध्यक्ष डा. लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गरेका हुन् ।​

महायानी बौद्धिष्ट हरू ले आफ्नो परिवारको स्मृतिमा प्राय दियो बाल्ने प्रचलन रहन्छ । बौद्धिष्ट बाहेक अन्य तीर्थालुहरूले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ ।

व्यवस्थित रुपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुर्‍याएको छ ।

माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्