
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास सिंहदरबारमा मंगलवार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
मंगलवार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका थिए ।
ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गरेकै साँझ ओलीले उनैलाई बालुवाटार गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै फेरि वाम गठबन्धनको खिचडी त पाकेको होइन ? भन्ने आशंका उब्जिएको छ ।
यता पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र माओवादीसँगकाे गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने कुरा उठिरहेको छ । यस्तोमा दुई कम्युनिस्ट दलका अध्यक्षबीच भेटवार्ता भएको छ ।