
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ ।
पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम शुरूवात गरिएको हो ।
उक्त झण्डामा गर्भवती आमा, छ महिनासम्मका स्तनपान गर्ने बच्चा, छ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रबर्द्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झन्डा राख्ने कामको शुरूवात गरिएको हो ।
गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन् ।
सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झन्डा राखिएको वडा नम्बर २ स्थित धन्सार आधारभूत स्वास्थ्य चौकीको इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन्।
गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताइन् ।