
काठमाडौं, २३ असोज — साध्वीहरूमाथि बलात्कारको अभियोगमा कारावास सजाय भोगिरहेका राम रहीमले सजाय पाउनुभन्दा एक हप्ताअघि आफ्नो डेरामा विशेष व्यक्तिहरूसँग बैठक बोलाएको खुलासा भएको छ ।

बैठकमा १० जनाजति रहेको बताइएको छ । डेरा सच्चा सौदा सूत्रहरूका अनुसार, उक्त बैठकमा सीबीआई अदालतको फैसलाका सम्बन्धमा रणनीति तयार पारिएको थियो ।
फैसला आउने बेलासम्ममा पञ्चकूलामा धेरै डेराप्रेमीहरू भेला पार्ने निर्णय लिइएको थियो । उनीहरू परिस्थिति अनुसार अघि बढ्ने योजनामा थिए ।
अदालतले राम रहीमको पक्षमा फैसला गरेमा उनीहरू सत्संग शुरु गर्ने थिए भने विपक्षमा फैसला गरेमा दंगा मच्चाउने सुर कस्दै थिए ।
विपक्षमा फैसला आएमा अराजकता फैलाउने अनि प्रशासनलाई हिंसा नियन्त्रणमा फसाएर राम रहीमलाई भगाउने षड्यन्त्र बनाइएको थियो ।
दंगा मच्चाउनका लागि सय मानिसहरूको टोली तयार पारिएको थियो । उनीहरू पञ्चकूला इलाकाका हरेक ठाउँमा निगरानी गरिरहेका थिए ।
तीमध्ये ३० जना जतिलाई पक्राउ गरिएको पत्ता लागेको छ ।
एजेन्सी