
सत्तारूढ नेकपा एमालेले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । रोतहटको चपुरमा आइतबार बसेको प्रदेश कमिटी बैठकले मधेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको प्रदेश कमिटी सदस्य सन्जित मन्डलले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार एमाले नेतृत्वमा सरकार बनाउन अरु दलहरूसँग छलफल र संवाद गर्ने भएको छ । 'मधेशमा एमालेकै नेतृत्वमा सरकार बनाउने निर्णय प्रदेश कमिटीले गरेको छ,' उनले भने ।
मधेशमा अहिले जसपा नेतृत्वको सरकार छ । जसपाले मधेश सरकारको नेतृत्व सुनिश्चितताको माग गर्दै आएको छ । केन्द्रमा जसपा र एमालेसहित माओवादीको सत्ता गठबन्धन छ ।
केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तनको तयारी छ । तर, स्पष्ट बहुमत र दलहरूबीच भागबन्डा भइनसकेकोले प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
हाल कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वका सरकार छन् । कर्णाली र बाग्मतीमा माओवादी र मधेशमा जसपा सरकार छ ।