
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गरेका छन् ।
‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेसन ससन्तपुरमा बिहीवार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराएका हुन् ।
अवैतनिक कन्सुलर कप्स (एचसीसीएन)का भाइस डीनसमेत रहेका अध्यक्ष ढकालले पर्यटन, जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकासजस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ता जुटाउन सामुहिक पहल गर्नुपर्ने समय आएको बताए ।
कानून परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसर सिर्जना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।
बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थलसहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवद्र्धन गर्नसमेत अध्यक्ष ढकालले लुम्बिनी सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । विश्वको जनसंख्याको एकतिहाइ बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताए ।
अध्यक्ष ढकालले नेपालमा हिल स्टेसनहरूमा केवलकारसँगै लक्जरी होटल र क्यासिनोले भारतीय र तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले आईएमई ग्रुप सातै प्रदेशमा केबलकार बनाउने क्रममा रहेको बताए ।
निकट भविष्यमा नेपाल सरकार, लगानी बोर्ड र उद्योग बाणिज्य महासंघ समेतले आयोजना गर्न गइरहेको लगानी सम्मेलनलाई नेपालमा विदेशी लगानी भित्र्याउने अवसरको रुपमा सदुपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् । यो सम्मेलनले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकारलाई दबाब पुग्ने पनि ढकालले औंल्याए ।
सो अवसरमा अवैतनिक कन्सुलर कप्स नेपालका डीन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेसनहरूमा पर्यटकीय पुर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित सम्भावना रहेको बताए । उनले निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले निजी क्षेत्रमैत्री नीति र कानून बन्नुपर्ने बताए ।
कार्यक्रममा अष्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक र रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए ।
विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।