
उच्च अदालत पोखराले दुई वर्षअघि भएको स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको ब्यास नगरपालिकाको मतगणना पुनः गर्न आदेश दिएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना पुनः हुनुपर्ने भन्दै त्यतिबेला उम्मेदवार दीपकराज जोशीले दायर गरेको मुद्दामा उच्च अदालतले मङ्गलवार आएर सो फैसला गरेको हो ।
न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।
२०७९ जेठ १२ गते जोशीले मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गरी पाउँ भन्दै अदालतमा रिट दिएका थिए ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । विजयी भएका न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । आफू पराजित भएसँगै उनले पुनः मतगणनाको माग गर्दै रिट दर्ता गराएका थिए ।
अदालतको फैसलाअनुसार अब ब्यासको मतगणना पुनः गर्नुपर्ने भएको छ ।
