
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनको लागि टीओआरमा दलहरू सहमतिनजिक पुगेको दाबी गरिए पनि प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तापक्ष मूल मुद्दाबाट भागेको आरोप लगाएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरूको मुख्य चासो नै रवि लामिछानेमाथि भएको भन्दै सरकारले गोलमटोल कुराकानी गरेको बताए ।
‘हाम्रो साथीहरू छानबिनका समितिको टिओआरमा छलफल गरेर आउनुभयो । तर सत्तापक्ष मूल मुद्दामा छलफल नै गर्न तयार छैन । किनकि हाम्रो मुख्य चासो गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ भन्ने हो', लेखकले लोकान्तरसँग भने, ‘यसबाट भागेर समस्या समाधान हुँदैन । कार्यदलमा जानुभएको साथीलाई हामीले त्यही भनेर पठाएका छौं ।’
कार्यदलमा रविको नाम उल्लेख नगरी समस्या भएका र रवि जोडिएका सुप्रिम, सूर्यदर्शनसहितका सहकारीको छानबिन गर्ने गरी टिओआरमा सहमतिनजिक पुगेको दाबी सत्तापक्षले गरेको थियो । तर मोटामोटी यो ड्राफ्टपछि कांग्रेसले छलफल गरेर मूल विषयबाटै सरकारी पक्ष भागेको आरोप लगाएको हो ।
सिंहदरबारमा गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियारसहितका नेताबीच छलफल भएको थियो । सोही छलफलमा कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछाने जोडिएका सुप्रिम, सूर्यदर्शन सहकारी, गोरखा मिडिया केन्द्रित भएर अनुसन्धान गर्नुपर्ने बताएका थिए ।
अरु समस्याग्रस्त सहकारीझैँ रवि जोडिएका विषयलाई एउटै घानमा हाल्न नहुने अडान कांग्रेसले राख्नुपर्ने मत गगनको थियो ।
समस्याग्रस्त अरु सहकारीको विषय पनि यसमा हाल्दा रविमाथि छानबिन नहुने, सहकारी ठगीको दायित्व सरकारले बेहोर्नुपर्ने भन्दै कांग्रेस नेताहरू सतर्क देखिएका छन् ।
रवि जोडिएकै सहकारीलाई पनि समस्याग्रस्त वा संकटग्रस्त भनेर व्याख्या गरिए यिनीहरूको अरबौं रुपैयाँको आर्थिक भार राज्यलाई आउनेबारे पनि कांग्रेस नेताहरूले छलफल गरेका छन् ।
यसैले कार्यदलको बैठकमा जाने नेताहरूलाई रविको नाम उल्लेख गरेर टीओआर बनाउनुपर्ने, राज्यलाई आर्थिक पार नपार्ने गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्नेसहितका विषयमा अडान राख्नुपर्ने मतमा कांग्रेस एकमत देखिएको नेता लेखक बताउँछन् ।
आन्तरिक छलफलपछि कांग्रेस कार्यदलका सदस्य जीवन परियार फेरि कानून मन्त्रालयमा बसेको कार्यदल बैठकमा सहभागी भएका छन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि कांग्रेसका केही चासोले गर्दा अझै कार्यदल टुंगोमा पुग्न नसकेको जानकारी दिए ।
संसद् बैठक रोकेरै भए पनि आजै बेलुकासम्म संसदीय छानबिन समितिको टीओआरमा सहमति जुट्ने दाबी उनले गरेका छन् ।