२६ जेठ २०८३, मंगलबार

सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि, उपविजेतामा सीमित बन्यो आर्सनल

जेठ ७, २०८१
काठमाडौं
सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि, उपविजेतामा सीमित बन्यो आर्सनल

म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति पाहुना टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको सिटीले दुर्लभ इतिहास बनाउँदै उपाधि जितेको हो ।

इङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टोलीले लगातार चारपटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको थिएन । तर, लगातार चौथोपटक उपाधि जित्दै सिटीले उक्त दुर्लभ इतिहास बनाएको हो । सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो । 

सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे। वेस्टह्यामका मोहम्मद कुदुसले गोल फर्काए पनि सिटी खेलमा रोकिएन । खेलको दोस्रो मिनेटमै फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए । उनले बर्नार्डो सिल्भाको पासमा गोल गरे । 

१८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २-० मा पुर्‍याए । तर, ४२औँ मिनेटमा कुदुसले गोल गर्दै वेस्टह्यामलाई २-१ को स्थितिमा ल्याए । ५१औँ मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पुर्‍याए ।

यस्तै, इङ्लिस प्रिमियर लिगमा आर्सनल पुनः उपविजेतामा सीमित भएको छ । आइतबार राति सम्पन्न खेलमा पाहुना टोली एभर्टनमाथि २-१ गोल अन्तरको जीत हासिल गरे पनि आर्सनल उपविजेता बनेको हो । 

सिटीले ३८ खेलबाट ९१ अंकसहित १०औँपटक लिग जितेको हो । आर्सनलको भने समान खेलबाट ८९ अंकसहित उपविजेता मै सीमित रह्यो । 

गत संस्करण पनि आर्सनललाई ५ अंकले पछि पार्दै सिटीले उपाधि जितेको थियो । आर्सनलको जितमा ताकेहिरो तोमियासु र काई हावर्ट्जले गोल गरे। एभर्टनका इड्रिसा गण गुएएको गोल सान्त्वना बन्यो ।

salt training

कमेन्ट गर्नुहोस्