२७ जेठ २०८३, बुधबार

यस वर्षको लक्ष्मीपूजामा लोडसेडिङ नहुने, यस्तो छ प्राधिकरणको तयारी

कात्तिक २०, २०७४
यस वर्षको लक्ष्मीपूजामा लोडसेडिङ नहुने, यस्तो छ प्राधिकरणको तयारी
काठमाडौं, १ कात्तिक—उज्यालोको पर्व मानिने तिहारमा रातभर झिलिमिलि बत्ती बाल्ने प्रचलन रहेको छ । त्यसैले त तिहारमा बिजुलीको उच्च माग हुने गर्छ । घर–घरमा झिलिमिलि बत्ती बाल्न सुरु भइसकेको छ ।
Tihar1
लामो समय लोडसेडिङले आक्रान्त बनेको नेपालमा रातभर पनि बत्ति ननिभाइने भएकाले तिहारको समयमा बिजुलीको मागअनुसार आपूर्ति धान्न ठूलो चुनौती हुन्छ ।

यसैमाथि तिहारमा लक्ष्मीपूजाको साँझ वर्षकै सबैभन्दा बढी बिजुलीको माग हुन्छ । सो कुरालाई मध्यनजर राख्दै नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजामा  कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।  लक्ष्मीपूजा बिहिबार परेको छ । 

गत वर्षको लक्ष्मी पूजाको दिनदेखि लोडसेडिङ अन्त्य गर्ने अठोट लिएको प्राधिकरणले यो वर्षको तिहारमा झिलिमिलि  उज्यालो  पार्नेछ ।

यस वर्षको तिहारमा गत वर्षभन्दा एक सय मेगावाट विद्युत बढी खपत हुने अनुमान समेत प्राधिकरणले गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार रातभरी झिलिमिलि पार्ने महत्वपूर्ण पर्व लक्ष्मी पूजाको दिन गत वर्ष १ हजार ४ सय ४४ मेगावाट विद्युत खपत भएकोमा यो वर्ष विद्युत् माग १ हजार ५ सय ५० मेगावाट पुग्ने अनुमान गरिएको छ ।

त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता अधिकारीले बताए ।
उनले लोकान्तरलाई भने, ‘लक्ष्मीपूजाको दिन कुनै पनि हालतमा लोडसेडिङ हुन नदिनका लागि विभिन्न उपाय अपनाइरहेका छौं, भारप्रेषण केन्द्रका इञ्जिनियरहरु रातदिन खटिरहेका छन्, हामी विश्वस्त छौं, जनताले तिहार हर्षोल्लासका साथ मनाउन पाउनेछन् ।’

यद्यपि केही खास प्राविधिक समस्या आए केही बेर प्रसारण रोकिन सक्ने हुँदा विद्युत भार सकेसम्म कम गर्न जनताले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ ।

यो वर्षको लक्ष्मीपूजाको दिन आन्तरिक रुपमा निजी तथा प्राधिकरणका सबै आयोजनालाई पूर्ण क्षमतामा चलाउने तयारी गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले नचलाइएको कुलेखानी विद्युत् गृह पनि लक्ष्मीपूजाको दिन चलाइनेछ भने हेटौडाको डिजेल प्लान्ट समेत चलाइनेछ । यसैगरी भारतका विभिन्न प्रसारणबाट ४ सय मेगावाट विद्युत् आयात गरिनेछ ।

गत वर्षभन्दा तिहार छिटो तिहार परेकाले नदीहरुमा पानीको बहाब नघटेकाले यो वर्ष नेपाली विद्युत आयोजनाहरुले पनि राम्रै परिमाणमा बिजुली उत्पादन गरिरहेकोे प्राधिकरणले जनाएको छ ।

फाइल तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्