
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार परिवर्तन भएसँगै ठूला लगानीकर्ता नेपाल नआएको दाबी गरेका छन् ।
१५/२० खर्ब लगानी भित्र्याउने भनिएको लगानी सम्मेलनमा १० अर्बको कमिटमेन्ट आउनु लज्जास्पद भएको उनले टिप्पणी गरे ।
प्रतिनिधि सभामा बजेटमाथि आइतबार प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलका क्रममा महतले सरकार फेरिएसँगै लगानीकर्ता नेपालमा आउन हिच्किच्याएको बताए हुन् ।
‘ठूला-ठूला लगानीकर्ता आउँदै थिए, सरकार फेरिएसँगै नेपालमा हुँदोरहेनछ भनेर छाडिदिए । कस्ता आए भन्ने त देखियो । १५/२० खर्ब भित्र्याउने भनेको १० अर्बको कमिटमेन्ट आयो । त्यसलाई पनि सफल भनिरहनु भएको छ,’ महतले भने ।
कांग्रेस सांसद महतले वर्षमान पुनले संसद्मा पेश गरेको बजेटले अहिले मुलुकले ब्यहोरेको समस्याको समाधान नगर्ने बताए।