
काठमाडौंको जमलका एक युवा शुक्रबार अपराह्न ठगीको जाहेरी लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगे । पशुपति सेभिङ एन्ड क्रेडिटमा उनी र परिवारका सदस्यले राखेको बचत र त्यसको ब्याज गरेर १ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।
पशुपतिले ब्याज दिन छाडेको ४ वर्षभन्दा बढी भयो । १६ प्रतिशत ब्याज पाउने आशमा परिवारका सदस्यहरूले जम्मा गरेको रकमको साँवा र ब्याज दुवै नपाएपछि ती युवा सीआईबी पुगेका हुन् ।
पशुपतिका तत्कालीन अध्यक्ष सीबी लामा भन्ने चन्द्रबहादुर लामा अहिले प्रहरी हिरासतमा छन् । लामालाई पक्राउ गरेको थाहा पाएपछि अहिले सीआईबीमा उक्त सहकारीविरुद्ध जाहेरी दिनेको लर्को लागेको छ ।
ती युवाले आफ्नो नाम नखुलाउन लोकान्तरसँग आग्रह गरे । उनले भने, ‘मेरो हजुरबुबा, बाबा, ममी र म लगायत १२ जनाभन्दा बढी सदस्यले यस सहकारीमा १ करोड भन्दा बढी जम्मा गर्यौं, शुरू–शुरूमा ब्याज राम्रै आउँथ्यो, चार/पाँच वर्ष भयो केही छैन ।’
पशुपति सेभिङले सदस्यहरूलाई जग्गा दिने भनेर चितवन, लामाटारलगायत स्थानमा पुर्याएको थियो ।
तर, ५ लाख आना पर्ने जग्गालाई १० लाख भनेपछि उनीहरूले लिएनन् । विगत १० वर्षदेखि पशुपतिमा जम्मा गरेको रकम फिर्ता पाउनेमा ती युवा आशावादी छन् ।
सरकारी अस्पतालमा फिजियो थेरापिस्टको काम गरेर अवकाश पाइसकेकी एक महिला पनि सीआईबीमा मलीन अनुहारमा भेटिइन् ।
‘हेर्नोस्, मैले सञ्चयकोषको रकम समेत यही सहकारीमा जम्मा गरें, अहिले मलाई रोगले थिलोथिलो पारेको छ, औषधी खाने पैसा समेत छैन,’ ती महिलाले लोकान्तरसँग भनिन्, ‘अस्ट्रेलियामा रहेकी छोरीले पठाएको रकम समेत पशुपतिमै जम्मा गरेको थिएँ । अहिले मलाई परिवारको समेत तनाव छ ।’ जमलमा शाखा रहेको पशुपति सेभिङमा उनले ६५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।
संकटमा परेको थाहा पाएपछि मुद्दती निक्षेपका रूपमा जम्मा गरेको रकम फिर्ता माग्दै ती महिला पटक–पटक सहकारी धाइन्, तर पैसा पाइनन् ।
सीआईबीका अनुसार सहकारीले चितवनको पिठुवामा रहेको प्लटिङको जग्गा दिने भनेर धेरै बचतकर्तालाई आश्वासन दिएको पाइएको छ । तर, बचतकर्ताले जम्मा गरेको रकमभन्दा बढी जग्गाको मूल्यांकन गरेपछि केही बचतकर्ता पछि हटेको देखिन्छ । केही बचतकर्तालाई भने सहकारीले कौडीको भाउका जग्गा भिडाएको पाइएको प्रहरीले जनाएको छ ।
बचतकर्ताको रकमबाट अर्बौंको जग्गा खरिद
काभ्रे तेमाल गाउँपालिकाका सीबी लामाले २०५५ सालमा पशुपति बचत तथा ऋण सहकारी खोलेका थिए ।
कान्तिपुर सहकारीमा अध्यक्ष भएकै बेला उनले पशुपतिमा श्रीमती जुली श्रेष्ठ लामालाई अध्यक्ष बनाएका थिए । २०७४ मा एकै परिवारका व्यक्ति दुई सहकारीको सञ्चालक बन्न नपाउने नियम आएपछि लामाले कान्तिपुर छाडेर पशुपति सेभिङ रोजेका थिए ।
सीआईबीका अनुसार कुल निक्षेप करिब १ अर्ब ७२ करोड पुगेको पशुपति सहकारीलाई लामाले आफू अनुकूल सञ्चालन गरे ।
बचतकर्ताको निक्षेप रकम दुरुपयोग गरेर लामाले आफूसहित विभिन्न व्यक्ति तथा कम्पनीका नाममा करोडौंको जग्गा खरिद गरेको पाइएको छ ।

सहकारी विभागबाट सीआईबीलाई पठाएको मिसिलअनुसार ललितपुरको भैंसेपाटी र लामाटार, काभ्रेको धुलिखेल र भकुण्डेबेसी, चितवनको मेघौली तथा रूपन्देहीको बसौली नगरपालिकामा सहकारीले जग्गा खरिद गरेको पाइएको छ । तर, अधिकांश स्थानको जग्गा सहकारीको नाममा नभएर लामालगायत अन्य व्यक्तिहरूको नाममा रहेको मिसिलमा देखिएको छ ।
मिसिलअनुसार ललितपुर र काभ्रेमा रहेको जग्गा सहकारीका अध्यक्ष लामा र सञ्चालक समिति सदस्य पुष्पराज कोइरालाको नाममा देखिन्छ ।
चितवनको जग्गा सफल चितवन प्रालि र बसौलीमा रहेको जग्गा डायमण्ड इँटा तथा टायल कारखानाको नाममा रहेको मिसिलमा उल्लेख छ । मिसिलअनुसार ललितपुरको बुङ्मती र भक्तपुरको नलिञ्चोक, बाराको निजगढ, चितवनको रत्ननगर र गौतमनगर, बुटवललगायत स्थानमा सहकारीले जग्गा खरिद गरेको देखिन्छ ।
सहकारीमा बचत रकम १ अर्ब ७२ करोड, जग्गाको मूल्यांकन ९ अर्ब !
आर्थिक वर्ष २०७४/०७५ देखि पशुपति सहकारीले लेखा परीक्षण समेत गरेको छैन । तर, त्यसअघि गरेका लेखा परीक्षण रिपोर्टअनुसार ललितपुर, काभ्रे, चितवनको मेघौली, रूपन्देहीको बसौलीमा खरिद गरेको जग्गाको मूल्य २ अर्ब १३ करोड ८२ लाख राखिएको छ । त्यसका अतिरिक्त सीबी लामाले सहकारी विभागमा उपलब्ध गराएको थप जग्गामध्ये काठमाडौंको दक्षिणकालीस्थित सौखेलमा १० रोपनी ३ आना जग्गाको मूल्य ४८ करोड ९० लाख रुपैयाँ राखिएको मिसिलमा उल्लेख छ ।
त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका– ९ मा २५ रोपनी, काभ्रेको धुलिखेलमा द्वारिकाज रिसोर्टसँगै ३९ रोपनी ९ आना र चितवनकै रत्ननगरमा १ बिघा १० कट्ठा जग्गा रहेको छ । यी जग्गाको मूल्य क्रमश ः ७२ करोड, १ अर्ब ३१ करोड र २७ करोड रहेको मिसिलमा उल्लेख छ ।
चितवनको रत्ननगरमै २६ करोड ६० लाख मूल्य पर्ने १ बिघा १८ कट्ठा र गौतमनगरमा ४९ करोड २० लाख मूल्य पर्ने ९ बिघा जग्गा रहेको दाबी लामाले गरेका छन् ।
बाराको निजगढमा २० बिघा जग्गाको ६४ करोड र बुटवलको ५ बिघा जग्गाको मूल्य करिब ६० करोड रुपैयाँ रहेको लामाले विभागमा बुझाएको पत्रमा उल्लेख छ । विभागले सीआईबीमा पठाएको मिसिलअनुसार पशुपति सहकारी र लामाले दिएको विवरण हेर्दा जग्गाबाट मात्र सवा ९ अर्ब हिसाब देखाइएको छ । तर, पशुपति सहकारीमा भने १ अर्ब ७२ करोड रुपैयाँ मात्र बचत संकलन भएको देखिन्छ ।
लामालाई सीआईबी झिकाएर अनुसन्धान गर्ने तयारी
पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष सीबी लामा अहिले पूर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको थियो । केन्द्रीय कारागारमा रहेका लामालाई जिल्ला अदालतकै आदेशमा सीआईबी झिकाएर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।
सहकारी विभागले गत जेठ २४ मा पशुपति सेभिङका अध्यक्षसहितका पदाधिकारीमाथि अनुसन्धान गर्न सीआईबीलाई सक्कल मिसलसाथ पत्र पठाएको थियो । सीआईबीले अनुसन्धान गर्ने भनेपछि अहिले पीडित बचतकर्ताहरू धमाधम जाहेरी लिएर पुगेका छन् । हालसम्म सीआईबीमा १ सय ४२ जनाले जाहेरी दिइसकेका छन् । यी जाहेरीकर्ताले उल्लेख गरेका रकम मात्रै ३० करोड ८५ लाख ९३ हजार पुगेको छ । जमल, डिल्लीबजार र भक्तपुरको गठ्ठाघरमा पशुपति सेभिङको शाखा कार्यालय छ ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले पशुपति सेभिङबारे अनुसन्धान गर्न सहकारी विभागबाटै मिसिल प्राप्त भएपछि विस्तृत अनुसन्धान भइरहेको बताए ।
उनले भने, ‘हालसम्म लामा एक जनामात्रै पक्राउ परेका छन्, अरू प्रतिवादीहरूको खोजी कार्य भइरहेको छ, सहकारीमा बचतकर्ताको रकम फिर्ता गराउने जोड सीआईबीको हुनेछ ।’