२६ जेठ २०८३, मंगलबार

रविको स्टन्टप्रति चितवनका पूर्वसांसदको कटाक्ष– पजेरो युगको सांसद हुँ, सधैं बसमा हिँडिरहेको छु

साउन २१, २०८१
काठमाडौं
रविको स्टन्टप्रति चितवनका पूर्वसांसदको कटाक्ष– पजेरो युगको सांसद हुँ, सधैं बसमा हिँडिरहेको छु

चितवन–२ बाट निर्वाचित पूर्वसांसद एवं नेकपा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले प्रचार गरेर सार्वजनिक बस चढेको भन्दै रास्वपा सभापति रवि लामिछाने लगायतप्रति कटाक्ष गरेका छन् । ‘पजेरो युग’को सांसद भए पनि आफू सधैं सार्वजनिक यातायातमा चढ्ने गरेको उनले उल्लेख गरेका छन् । 

लामिछाने बसमा चढेको फोटोसहित सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सन्देश लेख्दै अधिकारीले कुनै दिन बसमै भेटौला भनी कटाक्ष गरेका हुन् । ‘पूर्वउप प्रम तथा गृहमन्त्री माननीय रवि लामिछाने बसमै यात्रा गर्नु हुँदोरहेछ । ३० बर्ष अगाडि चितवन–२ बाटै निर्वाचित पजेरो युगको सांसद हुँ म । ४३ वर्ष भयो पूर्णकालीन राजनीतिमा लागेको । अहिले पनि दैनिक सार्वजनिक बसमै हिँडिरहेको हुन्छु’ उनले लेखेका छन्, ‘अब माननीयजीसँग कुनै दिन बसमै भेटहोला !’

उनी २०५१ सालको चुनावमा चितवन २ बाट निर्वाचित सांसद हु्न् । अहिले चितवन २ बाट रवि सांसद छन् । 

पजेरो युग भनेर उनले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदलाई पजेरो बाँडेको कुरातर्फ संकेत गरेका हुन् । 

जनतासँग नजिकिने र उनीहरूका कुरा सुन्ने भन्दै रास्वपा सभापति लामिछानेलगायत नेताहरू आइतवार सार्वजनिक बसमा चढेका थिए । 

निजी सवारी साधन पार्टी कार्यालयमा थन्काएर उनीहरूले ५ दिन बसमा यात्रा गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्