
काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दै छ । दुई देशबीचको खेल नेपाली समयानुसार साँझ सवा ५ बजे शुरू हुनेछ।
सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन् । यी दुईको खेल दिउँसो ३ बजे हुनेछ।
भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने श्रीलंका तालिकाको पुछारमा रहेर अन्तिम चारमा स्थान बनायो । नेपाल र इरान तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेर सेमिफाइलमा स्थान बनाए ।
राउन्ड रोबिन लिगको तेस्रो खेलमा नेपाल इरानसँगै पराजित भएको थियो । नेपालले हारको बदला लिँदै फाइनलमा स्थान बनाउने अवसर छ ।
नेपालले सोमबार लिगको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराए प्रतियोगिताको शीर्षस्थानमा उक्लिन सकेन ।
राउन्ड रोबिन लिगपछि नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले ४ खेलमा ३ जित र १ हार सामना गरेको थियो।
नेपालले ९ अंक बटुल्यो । ७ अंकसहित इरान तेस्रो स्थानमा रहँदा भारत शीर्षस्थानमा रह्यो । १० अंक जोडेको भारतले अब ४ अंकसहित चौथो स्थानमा रहेको श्रीलंकासँग अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।