×

संघर्ष र सफलताको कथा

खाजाघरबाट व्यवसाय शुरू गरेका महेन्द्र अहिले स्टार होटेलका मालिक

बुटवल | साउन २६, २०८१

बुटवलका पर्यटन व्यवसायी महेन्द्र श्रेष्ठको विगत संघर्षले भरिएको छ । पढ्न भनेर पहाडी जिल्ला तनहुँबाट रुपन्देहीको बुटवल झरेका उनी अहिले होटेल व्यवसायमा स्थापित भएका हुन् । यसबीच झण्डै ४० वर्ष दौरानमा उनले धेरै तीतामीठा अनुभव संगालेका छन् । हिजोका भुइँमान्छे आज बुटवलमा स्थापित भएर करोडौंका मालिक बनेका छन् । 

Laxmi Bank

महेन्द्र पर्यटन र होटेल व्यवसाय जोड्ने उद्यमीको रुपमा चिनिन्छन् । आर्थिक अवस्थालाई सहज बनाउने भनेर प्राध्यापन पेशा छाडी व्यवसायमा लागेका उनलाई अहिले सफलताले पछ्याइरहेको छ । 


Advertisment

अप्ठ्यारो परिस्थितिमा पनि निरन्तरको परिश्रम नै आफ्नो सफलताको जग रहेको महेन्द्र बताउँछन् । पाहुनालाई स्वागत–सत्कार गर्दै होटेल व्यवसाय क्षेत्रमा झण्डै चार दशक बिताउँदा आफूलाई मनग्य सन्तुष्टि मिलेको उनको भनाइ छ । सानो खाजाघरबाट शुरू गरेको व्यवसाय अहिले स्तरीय होटेलसम्म पुगेको छ । हरेक कुरामा फरकपन खोज्ने बानीकै कारण उनी सफल भएका हुन् । ‘आफ्नो आवश्यकता र बजारको चाहना पछ्याउँदै म क्षेत्रमा लागेँ,’ उनी भन्छन्, ‘मैले व्यवसाय सानो खाजाघरबाट शुरू गरेको हुँ, अहिले स्तरीय होटेल चलाएको छु । म हरेक चिजमा फरकपन खोज्छु ।’ 


Advertisment

केही वर्ष आफूले पढेको स्कूलमा अध्यापन गराएका महेन्द्रको रुचि निजामती क्षेत्रमा प्रवेश गरेर सरकारी जागिर खाने थियो । पढ्न भनेर गाउँबाट बुटवल झरेका उनी सानो खाजाघर हुँदै होटेल व्यवसायमा लागे । यसपछि यसैमा रमाउन पुगे । उनै महेन्द्रलाई अहिले लुम्बिनी प्रदेशमा पर्यटकीय क्षेत्रको विशेष महत्व राख्ने व्यवसायीको रुपमा हेरिन्छ । 

null

यस्तो छ विगत
महेन्द्र तनहुँको तत्कालीन गजरकोट गाविस हाल (घिरिङ गाउँपालिका)मा जन्मिएका हुन् । उनले गाउँकै विष्णु निमाविमा विद्यालय तह पढे । माध्यामिक तह तनहुँको डुम्रेबेशीस्थित शंकर माविबाट उत्तीर्ण गरे ।  यसपछि खैरेनीबाट विसं २०४३ मा एसएलसी पास गरे । त्यसयताको पढाइ भने उनले बुटवल र भैरहवाका क्याम्पसबाट पूरा गरे । स्नातक तह पास गरेका उनले यसैबाट होटेल व्यवसाय क्षेत्रमा हात हालेका हुन् ।  

पढाइमा तेज महेन्द्रले एसएलसी पास गरेपछि आफू पढेको स्कूलमै पढाउन थाले । तनहुँको विष्णु निमाविमा सात वर्ष पढाएका हुन् । विवाह बन्धनमा बाँधिएपछि उनी बुटवल झरेका हुन् । उनी ९०० रुपैयाँ लिएर २०४९ मा बुटवल झरेका थिए । बुटवल आएपछि उनले विदेश जाने सोच बनाए । विदेश जाने प्रयास असफल भएपछि उनले पढ्ने अनि अवसर पाए व्यापार पनि गर्ने सोच बनाए । यसपछि उनी बुटवलमै रहे । ‘बुटवल व्यवसायिक रुपमा राम्रो छ भन्ने सानैदेखि सुनेको थिएँ । यसले गर्दा बुटवलमा होटेल गर्न धेरै स्थान हेरे । बुटवल महंगो लागेपछि म भैरहवातिर हानिएँ,’ उनले सुनाए । 

भैरहवा गएर गल्लामण्डीमा खाजाघरसहितको कालीगण्डकी नाम गरेको होटेल सञ्चालनमा ल्याए । त्यो बेला १२ हजार रुपैयाँको लागतमा सो खाजाघर सञ्चालनमा ल्याएका थिए । उनले आफ्नो गाउँ हुँदै बगेको नदीको नामबाट कालीगण्डी नाम राखेका हुन् । तर महेन्द्रले त्यो खाजाघर सोचेजसरी चलाउन सकेनन् । 

‘भैरहवामा भारतीयको बढी प्रभावसँगै र स्थानीयको पनि दादागिरी भएपछि मैले त्यहाँ सोचेजस्तो गर्न सकिनँ,’ उनले ती दिन सम्झिए । व्यापार राम्रो नभएपछि महेन्द्र भैरहवा क्याम्पसमा पढ्न थालेँ । व्यापार गर्नुपर्ने, सँगै कलेज पनि जानुपर्ने र पारिवारिक दायित्वसमेत थपिएपछि उनलाई गाह्रो भयो । त्यहाँ खर्च धान्न मुस्किल भएपछि उनी बुटवल फर्किए । 

बुटवलको बसपार्कमा रहेको एउटा झुपडीमा होटेल बिक्रीमा राखेको देखे । त्यसलाई लिएर होटेल चलाउने योजनाका साथ महेन्द्र अघि बढे । अनि किने । उक्त होटेलको नाम छोरीको नामबाट ‘एलिना होटेल’ राखे । फेरि ‘तनहुँ–स्याङ्जा होटेल’ भनेर नाम परिवर्तन गरे । ‘नाम परिवर्तन गर्नुको कारण छ,’ उनले भने, ‘आफ्ना ठाउँ (तनहुँ)तिरका मानिस आउँदा होटेल आफ्नो भन्ने महसुस गरुन् भन्ने हेतुले मैले नाम परिवर्तन गरेको हुँ ।’ उनका अनुसार यसपछि व्यवसायले राम्रो गति लिँदै गयो । होटेलले राम्रो पिकअप लिएपछि अध्ययन र सरकारी जागिर खाने उनको सोचमा पनि परिवर्तन आयो । ‘व्यापारलाई सही ठाने । त्यसदेखि निरन्तर होटेलमा लागँे,’ उनले थपे । 

कुनैबेला महेन्द्रले ‘होटेल गर्छु’भन्दा परिवारले पत्याएका थिएनन् । अझ भनौं नगर्न सुझाव दिएका थिए । राम्रो पढाइ भएर शिक्षक भइसकेको छोरोले भट्टी पसल गर्न लाग्यो भने बुवा–आमा खुसी नभएको उनी बताउँछन् । ‘परिवारको चाहना नहुँदा नहुँदै पनि संघर्ष गर्दै होटेल थालेँ,’ उनी भन्छन् । 

संगठन निर्माणले मजबुत
पञ्चायतकालमा महेन्द्रले ‘मण्डलेहरू’को पिटाइ खाए । बहुदल आएपछि गुण्डागर्दी गर्नेलेदेखि पकेटमारसम्मले सताए । यसबाट आजित भएका थिए । महेन्द्रसहित उनीजस्तै व्यवसायी । यसपछि महेन्द्रसहितको पहलमा बुटवलका होटेल व्यवसायी मिलेर २०५२ मा होटेल व्यवसायी संघ, रुपन्देही गठन गरे । महेन्द्र संघमा सदस्य हुँदै अध्यक्ष भएर नेतृत्व तहसम्म पुगे । अहिले उनी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्षसमेत हुन् । ‘होटेल संगठन गठन गरेपछि उनीहरूको दबदबा हराउँदै गयो,’ उनी भन्छन् । 

बुटवलमा होटेल भनेर त्यो ‘थकालीको भट्टी’लाई मात्र लिइन्थ्यो । जहाँ लाहुरेहरू आउँदा बस्ने गर्थे । माटाको चुल्होमा खाना बनाउने गर्थे । यसैकारण ‘थकालीको भट्टी’ लाहुरेको रोजाइमा पर्ने गरेको महेन्द्र सुनाउँछन् । बुटवलमा त्यतिबेला होटेलमा खाना खाएपछि सुत्न सित्तैमा पाइने चलन थियो । लजको पैसा लाग्दैनथ्यो । पहाडी जिल्लाका मानिस रोजगारीको सिलसिलामा भारत जाने चलन थियो । भारतसँग नजिकको क्षेत्र भएकाले भारत जाने–आउनेको भीडभाड हुने गथ्र्यो । यसले गर्दा बुटवल यातायातको केन्द्रबिन्दु पनि थियो । यसले गर्दा होटेलका लागि बुटवल सेन्टर प्वाइन्ट मानिन्थ्यो । ‘भट्टी र साना–साना होटेलहरूको संख्या धेरै थियो । समयको विकास क्रमसँगसँगै होटेलहरू पनि विकसित हुँदै गए,’ महेन्द्रले सुनाए, ‘सेवा–सुविधा भएका होटेल खुल्ल थाले । रिर्सोट र पार्टी प्यालेससमेत खुल्न थाले । अहिले तारे होटेलदेखि फाइभस्टरमा होटेलसम्मका खुलेका छन् ।’ 

त्यो बेला लाहुरेहरूको मात्र बसाइ हुने गरेको बुटवलमा अहिले स्ट्यान्डरदेखि डिलक्स लेबलका कोठासमेत उपलब्ध हुने ठूला होटेल खुलेकोमा महेन्द्र उत्सायी छन् । भट्टीबाट विकास भएको होटेल रिसोर्ट हुँदै फाइभ स्टारसम्म पुगेको उनी बताउँछन् । ‘यो होटेल क्षेत्रको लागि ठूलो छलाङ हो । अहिले व्यवसाय सुदृढ भएको छ,’ उनले थपे ।

फाइभ स्टार होटेल खोल्ने लक्ष्य
भैरहवामा १२ हजारबाट खाजाघर शुरू गर्दै व्यवसायमा हात हालेका महेन्द्र अहिले करोडौंका मालिक भएका छन् । उनले अहिले बुटबलमा चलाइरहेको मनकामना होटेलको लगानी ५ करोड पुगिसकेको छ । यो स्टार होटेल हो । उनी अझै फोर–फाइब स्टार लेबलको होटेल खोल्ने सोचमा छन् । त्यसका लागि उनले जग्गासमेत खरिद गरिसकेका थिए । कोरोना भाइरस महामारीका कारण आएको आर्थिक मन्दीले उनको यो योजना अघि बढ्न सकेको छैन । 

महेन्द्रका नजरमा बुटवल हिजो प्रशासनिक केन्द्र थियो । अहिले राजधानी प्रदेशको सारेपछि मानिसमा केही असर गरेको छ । हिजो बुटवल आइसकेपछि यातायातको सुविधा पाइन्छ भन्ने थियो । अहिले गाउँगाउँमा विकास र सडक सञ्जाल जोडिएका छन् । बुटवललाई नयाँ ढंगले विकास गर्न पर्यटन क्षेत्रमा लागेका व्यवसायीले नयाँ सोचको विकास गर्न जरुरी रहेको उनी बताउँछन् । ‘बुटवलमा रात्रीकालीन बजारको अवधारणा ल्याउनुपर्छ । 

अरु शहरभन्दा यसलाई भिन्न रुपमा अघि बढाउनुपर्छ,’ उनले भने । भिन्न देखाउन आफू लागिपरेको उनी बताउँछन् । ‘हिजोको तरिकाले अब बुटवल चल्दैन । शैक्षिक र स्वास्थ्य र उद्योगको हब रहेको बुटवललाई अब पर्यटनसँग पनि जोड्नुपर्छ,’ महेन्द्रले थपे । त्यसका लागि राज्यसँग सहकार्य गर्ने योजनामा आफू रहेको उनले सुनाए ।  

महेन्द्रका अनुसार विगतमा पर्यटन क्षेत्रमा नबुझी अन्धाधुन्द लगानी भयो । यसले गर्दा कारोनासँगै शुरू भएको आर्थिक मन्दीमा परेपछि कतिपय व्यवयायी नै विस्थापित हुने अवस्था आयो । युवा लगानीकर्ताहरू अझ धरासायी भएको उनले बताए । ‘यो क्षेत्रमा धेरै सम्भावना छ । तर बुझेर लगानी गर्नुपर्छ,’ उनले भने, ‘नबुझी लगानी गर्दा २५ प्रतिशत व्यवसायीले त बुटवलमा व्यवसाय नै बन्द गरेर हिँडेको अवस्था छ ।’

विमानस्थल र केबलकार पूर्णरुपमा सञ्चालनमा आए रुपन्देही क्षेत्रमा होटेल व्यवसायको ठूलो सम्भावना रहेको आफूले देखेको महेन्द्र बताउँछन् । ‘पर्यटन क्षेत्रका धेरै पाटा छन् । ती पाटामा प्रचार–प्रसार गर्न सके व्यवसायमा प्रमोट गर्न सक्छौं भन्ने विश्वास छ,’ उनले भने, ‘मेहनत, लगनशीलता र धैर्यता सफलताका धरोहर हुन् भने, इमानदारिता मियो हो,’ उनले दार्शनिक शैलीमा कुरा टुंग्याए, ‘जुनसुकै व्यवसायमा इमान्दारिता सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x