
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका प्राथमिकता तथा योजना सार्वजनिक गरेका छन् ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरू र गर्ने कार्यक्रमहरूका विषय सार्वजनिक गरेका हुन् ।
पौडेलले मन्त्रालय सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरू तयार बताएका छन् ।
कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए ।
मन्त्री पौडेलले पूर्व स्वास्थ्यमन्त्रीहरू, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरू, पूर्व महाशाखा प्रमुखहरू, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरूका प्रतिनिधहरू, बहालवाला कर्मचारीहरू, अस्पताल निर्देशकहरू, सञ्चारकर्मीहरू, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धान दाताहरूसँग छलफल गर्दै सुझाव लिएका छन् ।
साथै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए । यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषय तथा कार्ययोजना तयार पारेका हुन् ।
पौडेलले संघ, प्रदेश तथा स्थानीय तह समन्वय तथा अन्तर(सम्बन्ध ऐन, २०७७ बमोजिमको विषयगत समितिको बैठक तत्काल राखेर तहगत समस्याको पहिचान र आगामी कार्यदिशाको पहिचान गर्ने बताएका छन् ।
जनस्वास्थ्य सेवा ऐन ऐन बमोजिमको राष्ट्रिय जनस्वास्थ्य समितिलाई सक्रिय बनाउने घोषणा पनि स्वास्थ्यमन्त्रीले गरेका छन् ।
स्वास्थ्यसँग सम्बन्धित कानूनी संरचना, जनशक्तिको समायोजन, व्यवस्थापन, पूर्वाधारको विकास, आधारभूत स्वास्थ्य सेवा, समन्वय, सम्बन्धमा बुझाईसहितका विषयमा आवश्यक छलफल गरी स्वास्थ्य सेवाको विकास र विस्तार गर्ने घोषणा स्वास्थ्य मन्त्रीले गरेका छन् ।
साथै, स्वास्थ्य बीमाको हालको दायरलाई बढाएर ५ लाख पुर्याउने, स्वास्थ्य सेवाका कानूनी जटिलता फुकाउनेसहितका घोषणा स्वास्थ्यमन्त्रीले गरेका छन् ।