
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताएका छन् ।
कम्पनीको आज आयोजित पाँचौं वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए ।
सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए ।
'खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ,' मन्त्री भण्डारीले प्रश्न गरे, 'कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन ? किन कार्य क्षेत्र विस्तार गर्न सकिएन ?'
उनले परम्परागत रुपबाट कम्पनी चल्न नसक्ने जनाउँदै व्यावसायिक कार्ययोजना बनाउन सचेत गराए ।