२६ जेठ २०८३, मंगलबार

१६ धुर जग्गा हडप्ने डरले श्रीमतीको हत्या

साउन २९, २०८१
विराटनगर
१६ धुर जग्गा हडप्ने डरले श्रीमतीको हत्या

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमतीको हत्या गरेका छन् । आफ्नो सम्पत्ति हडप्ने डरले लक्ष्मणले ४१ वर्षीया श्रीमती पवित्रा फुयाँल नेपालको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानसँग सम्बन्ध बिग्रेपछि पवित्रा माइतीमा बस्दै आएकी थिइन् । माइतीबाट बोलाएर लक्ष्मणले श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । उनको माइती मोरङकै लेटाङ नगरपालिका हो । 

‘श्रीमानसँग सम्बन्ध बिग्रेपछि पवित्रा माइतीमा गएर बसेकी रहिछिन्,’ प्रहरी निरीक्षक दाहालले भने, ‘अब मिलेर गरिखानुपर्छ भनेर श्रीमानले बोलाएपछि आइतबार मात्रै आएकी रहिछिन् ।’

श्रीमतीले श्रीमान्विरुद्ध मुद्दासमेत हालेकी थिइन् । तर, पछि उनीहरूबीच मिलापत्र भएको खुलेको प्रहरीले जनाएको छ। ‘पवित्राले माइतीमा बस्न थालेपछि सम्पत्ति रोक्का गरेर अंश मुद्दा तथा सम्बन्ध विच्छेदको मुद्दा हालेकी रहिछिन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पछि सँगै बस्ने भनेर मिलापत्र पनि गरेको लक्ष्मणले बयानमा भनेका छन् । तर मिलापत्र गरेको कागजात चाहिँ फेला परेको छैन ।’ 

पवित्रका नाममा १६ धुर जग्गा रहेको र त्यो जग्गा लैजाने डरले हत्या गरेको लक्ष्मणले प्रहरीसमक्ष बयान दिएका छन् । ‘मेरो सम्पत्ति लिएर भाग्ने भई भन्ने लागेपछि आवेशमा आएर हानेको उनले बयान दिएका छन्,’ ती प्रहरी अधिकृतले भने, ‘मिलापत्र भएपछि श्रीमती आइतबार बिहान मात्रै घरमा आएकी रहिछिन् । खाना खाने क्रममा पुनः जग्गाकै विषयमा विवाद भएपछि उनले खुकुरी प्रहार गरेका रहेछन् ।’ 

लक्ष्मणको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । हत्या गर्ने योजना नै बनाएर बोलाएको हो कि होइन भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । 

सुन्दरहरैँचा वडा नम्बर १० का वडा सदस्य ओमप्रसाद थपलियाका अनुसार लक्ष्मणको घर भएको क्षेत्रमा डेढदेखि २ लाख धुरले जग्गा किनबेच भइरहेको छ ।

लक्ष्णका दुइटी श्रीमती रहेको र जेठीले यसअगाडि नै छाडेर हिँडेको प्रहरीले जनाएको छ । दुई वटी श्रीमतीका एक/एक जना छोरा रहे पनि दुवै छोरा बुबासँग नबस्ने गरेको प्रहरीले बताएको छ । ‘जेठी श्रीमतीतिरको छोरा पनि अर्कैकोमा काम गर्ने गरेको भन्ने सूचना आएको छ,’ प्रहरी निरीक्षक दाहालले भने, ‘कान्छीतिरको छोरा ११ वर्षको रहेछन् । मामाघरमा बस्दा रहेछन् ।’

लक्ष्मणलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्