
कोशी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने तयारी गरेपछि नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको आन्तरिक विवाद व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्ने तयारी गरेको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आरोप लगाए।
दलका नेता इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालय संख्या बढाउने कुरा मान्य नहुने चेतावनी दिएका छन् । उनले मन्त्रालय बढाउनु भनेको संघीयताको हुर्मत लिने र संघीय व्यवस्थालाई नै बद्नाम गर्ने कार्य भएको उल्लेख गरेका छन् ।
‘एमाले–कांग्रेसले व्यक्ति व्यवस्थापन र भागबन्डाको नाममा दीर्घकालीन दायित्व सिर्जना हुनेगरी प्रदेशका मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या बढाउने कुरा हाम्रो दललाई कुनै पनि हालतमा मान्य हुने छैन’, आङ्बोले भनेका छन्, ‘भागबन्डाको नाममा संघीयताको हुर्मत लिने र संघीय व्यवस्थालाई नै बद्नाम गर्ने कार्य तत्काल रोक्न आग्रह गर्दछौं ।’
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकारहरूसँगको भेटमा मन्त्रालयको संख्या बढ्न सक्ने संकेत गरेका थिए ।