
कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ ।
कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
साथै गएरातिदेखिको वर्षाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षेत्रमा पहिरोका कारण अहिले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।