देशभरिका मान्छेहरू काठमाडौं आएझैं, युरोपभरिका नेपालीहरू पोर्चुगल आउँछन् । देशले रोजगारी सिर्जना गर्न नसकेपछि विदेशमा सम्भावना खोज्न जानु सामान्य भए पनि श्रमिक वर्गलाई राज्यले हेरचाह गर्न नसक्दा कैयौं बाधा–अवरोधहरू आएका छन् ।
देश रेमिट्यान्सले चलेको भनिन्छ, तर आफ्नै देशको राहदानी नवीकरण गर्न पापड पेल्नु परेको छ । राज्यले राजदूत नियुक्त गर्छ, तर कार्यक्षेत्रमा आउन नपाउँदै नियुक्ति बदर गर्छ । पोर्चुगलमा भएको एउटा काउन्सिलर सेवा पनि अचानक बन्द गरिदिएपछि हजारौं नेपालीहरूको भरोसा अहिले एनआरएनए पोर्चुगल भएको छ ।
पक्कै पनि राज्यको उपस्थिति नभएको स्थानमा सामाजिक संघ–संस्थाहरूको मानवीय भूमिका महत्त्वपूर्ण हुँदै आएको छ । डायस्पोरामा नेपाली संघ–संस्थाहरू सयौं छन्, तर धनी व्यापारीहरूको संगठन भनेर आरोप लाग्ने गरेको एनआरएनएको पोर्चुगल शाखाले श्रमिक वर्गको हितमा अद्भुत रूपमा अभिभावकीय भूमिका निभाइरहेको छ ।
संघका अध्यक्ष उमेश कुमार खड्का एनआरएनए पोर्चुगलको नेतृत्व मात्र सम्हालेका छैनन्, पोर्चुगलमा रहेका हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुखदु:खको सारथिसमेत बनेका छन् ।
आफ्नो कागजातका लागि पोर्चुगल सरकारलाई तिर्नुपर्ने थोरै रकम नहुँदा पीडामा रहेकी निम्की तामाङ (नाम परिवर्तन) जस्ता दर्जनौंलाई आर्थिक राहतसमेत सहयोग गरेर खड्काको नेतृत्वले कर्तव्यबोधको उदाहरण प्रस्तुत गरेको छ ।
पोर्चुगलमा केवल राहदानी नवीकरणको मात्र समस्या छैन, नेपाली समुदायमा मानवीय संकटका थुप्रै समस्याहरू छन्, जुन समस्या समाधान गर्न सानोतिनो जोडबलले सम्भव नै हुँदैन । तर, एनआरएनए पोर्चुगलले आफ्नो कार्यविधिले दिने सक्ने मानवीय सहयोगका सम्पूर्ण काम गर्दै आइरहेको छ ।
केही समयअघि लिस्बनबाट महेन्द्र कार्की नाम गरेका नेपाली नागरिक हराएका थिए । खोजीका लागि उनको परिवारले एनआरएनए पोर्चुगललाई चिठी लेखेर आग्रह गरेको थियो ।
स्थानीय प्रहरी र विभिन्न सम्पर्क स्रोतहरूको प्रयोगमा कार्की भेटिए । त्यसपछि उनलाई परिवारका सदस्यको जिम्मा लगाइयो । पोर्चुगलमा मानसिक स्वास्थ्यका समस्या लगायत विभिन्न कारणले परिवारको सम्पर्कभन्दा बाहिर रहेका सयौं नेपालीलाई एनआरएनए पोर्चुगलले खोज–तलासका लागि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
'हामीले धेरै काम गर्दै आइरहेका छौं । हराएको मान्छे पनि खोजिरहेका छौं, बिरामी भएर छटपटाइरहेको छ भने के कस्तो सहयोग गरेर हुन्छ, उसको जीवन रक्षाका लागि सक्दो कदम चालेका छौं,” अध्यक्ष खड्का भन्छन् । 'रातको २ बजे सुतेको बेला पनि दाजु, यस्तो आपत पर्यो भनेर फोन गर्छन् । कोही आगलागीमा परियो भन्छन्, कोहीलाई ट्याक्टरले हान्यो भन्छन्, कोही बेहोस भयो भन्छन्, कोहीको निधन भयो भन्छन् ।'
आफू कुनै रहरले नभई आवश्यकताले अध्यक्ष भएको भन्दै एक्लो प्रयासले केही नहुने उनले बताए । खड्काले थपे, 'म सधैं टीमवर्कमा विश्वास गर्छु । पोर्चुगलमा रहेका सबै संघ–संस्थाले सहयोग गरिरहेको छ । म राजनीति गर्न अध्यक्ष भएको होइन, म जति दिन अध्यक्षको कुर्सीमा रहन्छु, त्यतिदिनसम्म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सक्दो सेवा गर्छु ।”
पोर्चुगलमा कडा मेहनत गर्नुपर्ने, अनिन्द्रा, खानपानमा समस्या, मदिरा सेवन र दुर्घटनाजस्ता समस्याले हजारौं नेपालीहरू विभिन्न किसिमका बिरामी भइरहेका हुन्छन् । सामान्यतया तिनीहरूको उपचार खर्च इन्सोरेन्स, कम्पनी र पोर्चुगलको सरकारी सेवाबाट नै हुने भए पनि आवश्यक समन्वय तथा भाषाको अभावमा धेरैले दुःख पाइरहेका छन् । बिरामी परेर अस्पतालमा लडिरहेका सयौं नेपालीहरूलाई एनआरएनए पोर्चुगलले सक्दो आर्थिक राहत उपलब्ध गराउँदै आएको छ ।
केही समयअघि उदयपुर घर भएका डिकबहादुर महतरा काम गर्ने क्रममा अचानक बेहोश भई उपचारका क्रममा इभोरा अस्पतालमा निधन भएको थियो । उनको शव व्यवस्थापनका लागि कम्पनीले दिएको थोरै रकम अपुग भएपछि एनआरएनए पोर्चुगलले सहयोग अभियान चलाएर नेपाली परम्पराअनुसार शव व्यवस्थापन गरेको थियो ।
महतराजस्तै दर्जनौं नेपालीहरूको पोर्चुगलमा निधन भइसकेको छ । प्रायः सबैको शव व्यवस्थापनमा एनआरएनए पोर्चुगलले मानवीय भूमिका निर्वाह गरेको छ ।
बाग्लुङ बडीगाड गाउँपालिका–१ घर भई पोर्चुगलको जम्बुजिरास्थित मारभिल्ला कम्पनीमा काम गर्ने २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतिरहेको अवस्थामा निधन भएको थियो । एनआरएनए पोर्चुगलले उनको शवलाई व्यवस्थापन गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेको थियो ।
त्यसैगरी, धादिङ नेत्रावती घर भएका टेकबहादुर तामाङको पोर्चुगलमा निधन भएको थियो । उनको पनि एनआरएनए पोर्चुगलले सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।
बाहिरबाट हेर्दा यो काम सामान्य देखिए पनि खर्चका हिसाबले, व्यस्तताको हिसाबले पोर्चुगलमा यो निकै सकसपूर्ण काम हो । त्यसमाथि कानूनी पक्षहरू त छँदैछन् । एउटा शव व्यवस्थापनका लागि ५ देखि ७ हजार युरोसम्म खर्च हुने गर्दछ । बिरामीको उपचारका लागि पनि सोही अनुपातमा खर्च हुने गर्दछ । महिनामा यस्ता दर्जनौं समस्यालाई एनआरएनए पोर्चुगलले सफलताका साथ समाधान गर्दै आइरहेको छ ।
पोर्चुगलमा रहेका खेलप्रेमीहरूका लागि एनआरएनएले हौसला प्रदान गरेर खेल क्षेत्रमा समेत ध्यान दिइरहेको छ । केही समयअघि म्याग्दी प्रवासी नेपाली संघ स्पेन (मोना, स्पेन) ले आयोजना गरेको युरोपस्तरीय फुटबल प्रतियोगितामा पोर्चुगलको तर्फबाट सहभागी हुन गएको टीमका संयोजक निरज गुरुङलगायतलाई अध्यक्ष खड्काले जर्सी हस्तान्तरण गरेर हौसला प्रदान गरेका थिए ।
पोर्चुगलमा सबैभन्दा ठूलो समस्याको रूपमा राहदानी नवीकरण र कागजात प्रमाणीकरण रहेको छ । राजदूतावास नहुँदा र काउन्सिलर नहुँदा विचौलियाहरूले निकै दुःख दिइरहेका छन् । यस्तोमा एनआरएनए पोर्चुगलको सक्रियतामा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि आफ्नै कार्यालयमा अस्थायी शिविर आयोजना गरेर हजारौं नेपालीहरूको समस्या समाधान गरिदिएको छ ।
राहदानी नवीकरणका लागि हालसालै २०२४ अगस्ट २ देखि ११ तारिखसम्म (२०८१ साउन १८ देखि २७ गतेसम्म) जैविक तथ्यांक संकलन गर्ने काम सम्पन्न गरिएको थियो, जसका लागि सम्पूर्ण समन्वयको काम एनआरएनए पोर्चुगलले गरेको थियो ।
काउन्सिलर हटेपछि रिक्तता छाएको अवस्थामा सोको पनि पहल गरेर प्रहरी रिपोर्ट लगायतका कागजात प्रमाणीकरणका लागि आफ्नै कार्यालयलाई सम्पर्क स्थान बनाएर एनआरएनए पोर्चुगलले राज्यको प्रतिनिधिविहीन अवस्थाको शून्यता हल गरेर श्रमिकहरूको आशा जगाएको छ ।
'एक वर्षदेखि राहदानी नवीकरण नभएर लगभग डिप्रेशनमा नै पुगेकी थिएँ । एनआरएनएले पहल गरेर मेरो काम गरिदियो । मेरो लागि अभिभावक नै बन्यो,' राहदानी शिविरमा भेटिएकी ३३ वर्षीय लक्ष्मी चौधरी (नाम परिवर्तन) ले भनिन् ।
उनले थपिन्, 'मलाई एनआरएनए के हो, यसले के गर्छ भन्ने थाहा थिएन । पहिला कहिले हो काठमाडौंमा झगडा भएको समाचार सुनेको थिएँ, तर यसले त यति राम्रो काम पनि गर्ने रहेछ ।'
एमआरएनए पोर्चुगलले नेपाली समुदायका लागि महत्वपूर्ण र उपयोगी हुने समग्र विषयवस्तु तथा सन्दर्भहरू समेटेर 'नेपाल–पोर्चुगल दर्पण, स्मारिका– २०२४' प्रकाशित गरेको छ ।
एनआरएनए पोर्चुगलमा लामो समयदेखि आबद्ध हुँदै आएका वरिष्ठ पत्रकार राजकुमार थापाले किताब सम्पादन गरेका छन् ।
'हामीले डायस्पोराको लेखनलाई किताबको रूप दिएका छौं । एनआरएनए केवल राजनीति मात्रै गर्दैन, बौदिकी निर्माणमा पनि हस्तक्षेत गर्दछ', थापा थप्छन्, 'म पनि पहिले पत्रकार नै थिएँ । अहिले पनि पत्रकारकै रूपमा नेपालीको सेवा गर्दै आइररेको छु । एनआरएनए पोर्चुगललाई आफूले सकेको योगदान गर्दै आइररेको छु ।'
यस किताबमा पोर्चुगलमा रहेका नेपालीहरूको धारणा, साहित्य, विचार र सूचनालाई प्रकाशित गरेको देखिन्छ । नेपाल–पोर्चुगल दर्पण किताब पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबोलो दि सौसालाई समेत हस्तान्तरण गरिएको थियो ।
आफू अध्यक्षको जिम्मेवारीमा आएदेखि नै आफूलाई असफल बनाउन खोज्ने मानिसहरू सल्बलाइरहेको खड्काको बुझाइ छ ।
'मैले कसैको चित्त दुख्नेगरी काम गरेको छैन, एनआरएनए पोर्चुगलको समग्र काम देखेर सबै नेपाली दाजुभाइ दिदीबहिनी खुशी हुनुहुन्छ।'
आफ्नो कार्यकाल सकिन अब धेरै समय बाँकी नरहेकाले खड्काले यो छोटो समयमा अझै धेरै राम्रो काम गरेर देखाउने बताएका छन्।
पोर्चुगलका लागि नेपाल सरकारको तर्फबाट पर्यटन दूतका रूपमा काम गरिररेका रमेशराज बास्तोलाले एनआरएनए पोर्चुगलले अहिलेसम्म गरेको काम हेर्दा सन्तोषजनक नै भएको र आफूले पनि पर्यटन क्षेत्रमा सकरात्मक भूमिका खेल्न चाहेको बताए ।
पर्यटन दूतको रूपमा मात्र नभई आफूले पनि एउटा लेखक र पत्रकारको रूपमा हेर्दा एनआरएनए पोर्चुगलको हालको नेतृत्वले ऐतिहासिक काम गरेको उनले बताए ।
पोर्चुगलमा राजदूतावास अपरिहार्य भएको पनि उनले बताए । राजदूतावास आखएको खण्डमा पर्यटन प्रबर्द्धनका लागि सहज हुने उनको विश्वास छ ।
एनआरएनए पोर्चुगलका संरक्षक तथा युवा नेता यामेन्द्र घर्ती मगरले समग्रमा हेर्दा एनआरएनए पोर्चुगलको अहिलेको नेतृत्वले केही राम्रो गर्न खोजे पनि अब भने नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।
'उमेशजी थाक्नुभयो, उहाँलाई कामको धेरै चाप भयो,' घर्ती मगर थप्छन्, 'राम्रो काम गरेको मान्छेको राम्रै तरिकाले बिदाइ गर्दा हामीलाई पनि राम्रो लाग्छ ।'
एनआरएनए पोर्चुगलकी महिला संयोजक सरिता शर्माले यो कार्यकालमा कैयौं सकारात्मक काम गरे पनि संघमा महिलाहरूको उपस्थिति ज्यादै न्यून भएको बताइन् ।
'यसपालि विधान संशोधन गरेर भए पनि महिला संयोजकको काम, कर्तव्य र अधिकार लाई फराकिलो बनाउन सफल भएका छौं । भविष्यमा महिलाहरूलाई समाजमा अगाडि बढ्नका लागि वातारवरण तयार गरेका छौं । यसले गर्दा विदेशमा रहेका महिला समेत प्रेरित भई सशक्तिकरणमा मद्दत पुग्ने अपेक्षा राखेका छौं,' उनले भनिन् ।