
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बंगलादेशको जस्तो घटना हुँदा आफूमात्र सुरक्षित रहन्छु भन्ने भ्रम नपाल्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । सत्ताबाट हट्नेबित्तिकै देश श्रीलंका र बंगलादेश बन्छ भन्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भाष्य गलत रहेको उनले बताए ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद खतिवडाले माओवादीलाई जिम्मेवार राजनीति गर्न आग्रह गरेका हुन् ।
‘रोष्ट्रममा गएर गाली गर्दा एकछिन ताली खाउँला, तर जनताको बीचमा जाँदा त्यसको जवाफ हामी आफैँले दिनुपर्छ । पूर्वप्रधानमन्त्रीले आफूमात्र सुरक्षित भन्ने भ्रम राखेको पाइयो । आफू सत्तामा नहुनेबित्तिकै देश श्रीलंका हुने, बंगलादेश हुने यो भाष्य गलत छ’ खतिवडाले भने ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेस–एमाले सरकारको कुशासनका कारण जनआक्रोश विस्फोट हुने खतरा रहेको बताएका थिए ।
१८ वर्ष सत्तामा बस्दा माओवादीले विद्युत् महसुलबारे नबोलेको अहिले आएर अरुलाई आरोपित गर्ने काम प्रचण्डले गरेको कांग्रेस सांसद खतिवडाले बताए । ‘कांग्रेस–एमाले कसैले पनि विद्युत् महसुल नउठाउने भनेका छैनन् । आफू १८ वर्ष सत्तामा बस्दा उठाउन केही नगर्ने, रोष्ट्रममा गएर विरोध मात्र गर्ने ?’, उनले प्रश्न गरे ।