
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ ।
मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिए ।
“निर्माण व्यवसायीले मनसुनका कारण ठेक्कामा घाटा भयो भनेर काममा ढिलासुस्ती गरेको थियो, अगस्त र सेप्टेम्बर महिनामा काम ढिला हुन्छ भनेर भन्दै थियो,” उनले भने, “घाटानाफा हामी जान्दैनौँ सम्झौताअनुसार काम हुनुपर्छ, तुरुन्त काम सुरु गर्नु होइन भने हामी ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ भनेपछि उनीहरु अहिले काममा फर्किएका छन् ।” नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड चाइनाको सरकारी निर्माण कम्पनी भएकाले काम चाँडो गराउन कूटनीतिक पहल गरिएको उनले बताए ।
“निर्माण व्यवसायी चाइनाको सरकारी कम्पनी हो,” उनले भने, “जसरी हुन्छ नारायणगढ बुटवल सडक विस्तारको काम थप भएको समयमा सक्नका लागि हामीले डिप्लोमेटिक पहलसमेत थालेका छौँ ।” निर्माण कम्पनीको दोस्रोपटक थप गरिएको म्याद गत साउन ८ गते सकिएपछि अहिले एक वर्षका लागि तेस्रोपटक म्याद थप गरिएको ढकालले बताए। अहिले थप गरिएको म्याद नै अन्तिम म्याद भएको भन्दै ढकालले थप भएको समयका काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने बताए ।
निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरिएको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिए ।