
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको शहरी स्वास्थ्य केन्द्र माले पाटनका अहेव शोभा उप्रेतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उप्रेतीले एसएलसी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र साबिक शहरी स्वास्थ्य केन्द्र मालेपाटन र हाल पोखरा महानगरपालिकामा पेश गरी चौथो तहको अहेव पदमा नियुक्ति लिएको अभियोगपत्रमा उल्लेख छ ।
२०६८ देखि २०७८ सालसम्म कार्यरत रही ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।