
बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका छन् ।
सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरूले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए ।
राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गरेका थिए ।
राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरूप ग्रहण गरेका थिए ।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गरेका थिए ।
त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरे ।
राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताए ।
राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरूलगायतले स्वागत गरेका थिए ।