
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण हुने बताएका छन् ।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाद्वारा आज आयोजित तालिमको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन प्रयास गर्ने उल्लेख गरे।
उक्त सम्मेलन नेपालजस्ता जलवायु परिवर्तनले गम्भीर असर पारिरहेको देशहरुका लागि अझ महत्वपूर्ण हुने उनको भनाइ छ । मन्त्री ठकुरीले यसपटकको कोप सम्मेलनमा छलफल हुने जलवायु वित्तको विषय नेपालका लागि विशेष रहने उल्लेख गरे । वित्तीय सहयोगबिना विकासशील देशहरुलाई जलवायु सङ्कटसँग लडन सहज छैन ।
उक्त कार्यशालाका सहभागीले जलवायु परिवर्तनका कारण अन्न उब्जनीमा ह्रास, पानीका मुहान सुक्दै गएको, हिँउ कम पर्न थालेकोजस्ता विषय उठान गरेका थिए ।
कार्यक्रममा वनराज्यमन्त्री रुपा विकले जलवायु परिर्वतनको असर मुलुकले बढी सामना गरिरहेको बताइन् ।