२६ जेठ २०८३, मंगलबार
डेडिकेटेड र ट्रंक लाइन विवाद

उद्योगीसँगको बैठकमा घिसिङको निरीहता– आफैंले काटेको बिल कसरी सच्याऊँ, किस्ता तिर्नुस् !

कात्तिक ८, २०८१
काठमाडौं
उद्योगीसँगको बैठकमा घिसिङको निरीहता– आफैंले काटेको बिल कसरी सच्याऊँ, किस्ता तिर्नुस् !
फाइल फोटो

डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीहरूसँग कुरा नमिलेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काट्ने तयारी गरेको छ ।

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठक अनिर्णित बनेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूसँग छलफल गरेका थिए । 

छलफलमा घिसिङले आफ्नो पुरानो कुरा दोहोर्‍याउँदै उद्योगीहरूलाई बक्यौता तिर्न आग्रह गरेका थिए । 

छलफलमा सहभागी एक उद्योगीले भने, 'उहाँले किस्ता तिरिदिनुपर्‍यो भन्नुभयो । हामीले विद्युत उपभोग गरेको प्रमाण दिनुस्, किस्ता किन ? एकपटक पैसा लैजानुस् भन्यौं ।'

त्यसपछि घिसिङले आफैंले काटेको बिल सच्याउन नसक्ने भन्दै बक्यौता जसरी पनि तिर्नुपर्ने ढिपी गरेको उनले बताए ।

'मैले बिल काटिसकें । आफैंले काटेको बिल सच्याउन सक्दिनँ, तपाईंहरूले जसरी पनि बक्यौता तिर्नुपर्छ,' घिसिङको भनाइ उद्धृत गर्दै ती उद्योगीले लोकान्तरसँग भने ।   

उद्योगीहरूले पटक-पटक आफूहरूले विद्युत उपभोग गरेको प्रमाण मागिरहेका छन् । घिसिङले टाइम अफ डे (टीओडी मिटर)को तथ्यांक उद्योगीलाई दिन सकेका छैनन् । 

बिहीबार दिउँसो २ बजे शुरू भएको प्राधिकरण-उद्योगी छलफलमा पनि कुनै निष्कर्ष ननिस्किएपछि घिसिङ लाइन काट्ने मनस्थितिमा पुगेका हुन् । तर, प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले छलफल जारी रहेकाले निष्कर्ष ननिस्किएको बताए ।

'उद्योगीहरूसँगको छलफलपछि आजै बोर्ड बैठक बस्ने कि भन्ने पनि छ,' गिरीले भने, 'सबै कुरा छलफलकै क्रममा भएकाले अहिल्यै निष्कर्ष निस्किसकेको छैन ।' 

गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । ४९ उद्योगको नामसहित प्राधिकरणले कात्तिक ८ गते (आज)भित्र महसुल बुझाउन गोरखापत्रमै सूचना निकालेको थियो । 

त्यसयता भएको पटक-पटकको छलफलमा पनि समस्या समाधान नभएपछि उद्योगीहरूले महसुल तिरेका थिएनन् ।

बिहीवार बसेको सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगीसँग राय लिएर मात्र कदम चाल्न घिसिङलाई निर्देशन दिएका थिए । 

घिसिङले सोही अनुसार उद्योगीसँग छलफल गरे पनि छलफलबाट कुनै निष्कर्ष निस्किएन ।   
 

salt training

कमेन्ट गर्नुहोस्