२७ जेठ २०८३, बुधबार

‘क्रप कटिङ’ गरी गरिँदैछ धान उत्पादनको अनुमान

कात्तिक १२, २०८१
काठमाडौं
‘क्रप कटिङ’ गरी गरिँदैछ धान उत्पादनको अनुमान

चितवनमा लगाइएको बर्खे धानको उत्पादन/उत्पादकत्व अनुमान तथा तथ्याङ्क लिन क्रप कटिङ (बाली कटानी) शुरू गरिएको छ । 

कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ शुरू गरेको हो ।

पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिए ।

धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए ।

 कँडेलले भने,  'यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ तर धान लगाउने समयमा मौसम अनुकूल भए पनि पाक्ने बेलामा केही समय मौसम प्रतिकुल र धानमा डटी प्यानिकललगायत रोगका कारण केही समस्या नभएको छ ।'

उनले अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए ।

'प्रतिहेक्टर चार मेट्रिक टन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर चार मेट्रिक टनकै हाराहीमा उत्पादन अनुमान गर्न सकिन्छ', कार्यालय प्रमुख कंडेलले भने, 'पूर्वी चितवनमा केही उत्पादन घटेको हामीले पाएका छौँ । सबै स्थानमा क्रप कटिङ गरी तथ्याङ्क लिएपछि उत्पादनबारे थाहा हुनेछ ।'

कार्यालयका अनुसार जिल्लामा यसवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ ।

यहाँ सावित्री, सावा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, काशिनाथलगायत धान लगाइएको छ ।

गत वर्ष २६ हजार  तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्