२६ जेठ २०८३, मंगलबार

नगरवासीलाई सहुलियतमा फूल

कात्तिक १५, २०८१
काठमाडौं
नगरवासीलाई सहुलियतमा फूल
फाइल तस्वीर

नुवाकोटको विदुर नगरपालिकाले फूल उत्पादनगरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रूपमा शुरू गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री शुरू गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले भने, 'भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौं ।'

मखमली फूल प्रतिकिलो तीन सय ५० र सयपत्री प्रतिकिलो दुई सय शुल्क तोकिएको छ । उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिए । बजारमा हाल सयपत्री फूल प्रतिकिलो दुई सय ५० र मखमली चार सयमा कारोबार भइरहेको छ । 

नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्